सारा चेलीकी माइती अनुराधा कोइरालाको प्रेरणादायी कथा (भिडियोसहित)

सारा चेलीकी माइती अनुराधा कोइरालाको प्रेरणादायी कथा (भिडियोसहित)
Glammandu प्रकाशित: मंगलबार, २८ बैशाख २०७८, १३ : ३७ pm

उनी बेसहाराहरुकी सहारा हुन्, अनि जसको कोहि छैनन्, उनीहरुकी आमा हुन् अनुराधा कोइराला। सानैदेखि कसैलाई भेदभाव गर्नु हुँदैन, सबै मान्छे समान हुन्छन्, सबैलाई माया गर्नुपर्छ भन्ने संस्कार पाएकी अनुराधा कोइरालाले व्यावहारिक जीवनमा त्यसलाई अपनाइन् नै । उनले संस्था स्थापना गरेरै सबैलाई छहारी प्रदान गरिन् । 

उनले सुरुमा यौनहिंसाबाट पीडित ८ जना महिलालाई उद्धार गरेर सामाजिक काम थालेकी थिइन् ।  सुरुमा ती महिलाहरुलाई पसल खोलिदिएर, उनीहरुलाई आफ्नै डेरामा राखेर उद्धारको काम सुरु गरेकी कोइरालाले हजारौं बालबालिकाको उद्धार गरिसकेकी छिन्  ।

कोइरालाले २०४९ चैत २४ गते माइती नेपालको स्थापना गरेर यौनहिंसामा परेका महिला र बालिकाको उद्धार थालेकी थिइन्।  माइती नेपालमार्फत उनले अहिलेसम्ममा हजारौं महिलाको उद्धार गरिसकेकी छिन्। काठमाडौं र विभिन्न जिल्लामा ३० वटाभन्दा धेरै पुनःस्थापना केन्द्र सञ्चालनमा छन्। 

समाजसेवामा आफ्नो सिंगो जीवन समर्पण गरेकी कोइरालाको जोश ७१ वर्षसम्म आइपुग्दा पनि उतिकै छ  । सम्पन्न परिवारमा जन्मिएकी उनलाई यो कदम चाल्दा सुरुमा थोरै संघर्ष गर्नुपरे पनि अहिले पछाडि फर्केर हेर्नुपर्नुपरेको छैन । जीवनका हरेक उतारचढावलाई पार गर्दै समाजसेवामा होमिएकी उनको जस्तो त्याग गर्ने सायदै होलान्  । समाजसेवा गर्छु भन्नेहरुमध्येको बलियो खम्बा हुन् अनुराधा कोइराला । 

सन् २०१० मा सिएनएन हिरो अवार्डबाट सम्मानित कोइरालालाई रियल हिरोको विशेषणले पनि चिनिन्छ । महिला तथा बालबालिका निम्ति अहोरात्र खटिरहने उनी  कसैको दुख देख्नै नसक्ने बताउँछिन् । उनीहरुको उद्धार र सेवा गर्न पाउँदा सबैभन्दा खुसि हुन्छिन् । 

समाजसेवामा मात्र होइन उनको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ  । कर्म गर्दै जाऊ फलको आशा नराख भन्ने गीतामा कृष्णको उपेदशलाई सधैँ मनमा राखेर अगाडि बढ्ने अनुराधा काममै रमाउँछिन्  । बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म निरन्तर काममै व्यस्त हुन्छिन्  ।आफ्नो एउटै लक्ष्य बालबालिका र चेलीबेटी बेचबिखनमुक्त देश बनाउने भएको उनी बताउँछिन् । 

पछिल्लो समयमा देशमा बलात्कार बढ्दै गइरहेको बेला  सम्बन्धित निकाय मौन रहेकोमा उनले असन्तुष्टि व्यक्त गरिन् ।  महिलाहरु आफन्तबाटै सुरक्षित नभएको भन्दै उनले पुरुषहरुलाई शिक्षा दिनुपर्ने आवश्यकता औंल्याइन् ।  
आजको कथा प्रेरणाको अंकमा उनै रियल हिरो अनुराधाको जीवनको भोगाई, संघर्ष अनि सफलताको कथालाई प्रस्तुत गरेका छौं ः

प्रकाशित: मंगलबार, २८ बैशाख २०७८, १३ : ३७ pm

प्रतिक्रिया दिनुहोस

Related News