यसरी सुरु भएको थियो आमाहरुकी आमा दिलशोभाको समाजसेवाको यात्रा (भिडियोसहित)

यसरी सुरु भएको थियो आमाहरुकी आमा दिलशोभाको समाजसेवाको यात्रा (भिडियोसहित)
Glammandu प्रकाशित: आइतबार, २६ बैशाख २०७८, १३ : ३१ pm

भगवानको अर्को रुप नै आमा हुन् । संसारको सबैभन्दा अमुल्य चिज नै आमा हुन् । हामी संसारको जुनसुकै कुरा किन्न सकौला तर आमा किन्न खोजेर पनि पाउँदैनौं | किनकी आमा आफैमा अमुल्य हुन् | 

आमाको महिमा गाउँदै गर्दा सम्झनै पर्ने नाम हो दिलशोभा श्रेष्ठ । किनकि उनी आमाहरुको पनि आमा हुन् । जो आफ्नाहरु भएर पनि एक्लिएका छन्, जो आफ्ना कोहि नभएर एक्लिएका छन् उनीहरुको सहारा हुन् दिलशोभा श्रेष्ठ । आमाहरुलाई आश्रय दिनको लागि उनले आमाघर नै संचालन गरिरहेकी छिन्  । कालिमाटीबाट थोरै अगाडी बढेपछी रविभवन आउँछ त्यहाँबाट २ मिनेट जति हिडेपछि दिलशोभाको 'आमघर' पुग्न सकिन्छ । 

आफुले मन पराएर बिहे गरेको श्रीमानले छोरा नपाएको भन्दै छाडेपछी सुरु भएको उनको समाजसेवाको यो यात्रा निकै प्रेरणादायी नै छ  । श्रीमानले छाडेपछि तनावमा रहेकी उनले आफूजस्तै दु:ख पाएकाहरुलाई सेवा गर्ने कुरालाई मनमा अंकुरण गरेकी थिइन् । त्यसपछि कालिमाटी पुलमा अलपत्र अवस्थामा रहेकी आमाहरुलाई उद्दार गरेर उनले समाजसेवाको यात्रा सुरु गरेकी थिइन् । सुरुमा ५ जना आमाहरुलाई आश्रय दिएर चालेको उनको यो कदमले आजको दिनसम्म सयौं आमाहरुलाई सेवा गरिसकेकी छिन् | त्यति मात्र होइन उनले सयौं आमाको दाहसंस्कार गरीसकेकी छिन् । जुन कुरा दागबत्ती दिँदा छोरा चाहिन्छ भन्नेहरुको लागि चुनौती नै हो ।

उमेरले ६७ वर्ष पार गरिसक्यो तर आफ्ना सन्तानको सेवामा निरन्तर खटिरहन्छिन् यी आमा। आमा-बाबुहरुलाई "मरेपछि श्राद्ध होइन बाँचुन्जेल श्रद्धा" गर्नुपर्छ,  "आश्रम बनाउने होइन आश्रय दिनुपर्छ" भन्ने भावनाले भरिएकी उनले आजसम्म सयौं आमाहरुको सेवा गरिसकेकी छिन्, आश्रय दिइसकेकी छिन् । आमाघर कालिमाटीमा मात्र होइन गुर्जोधरा, गोकर्णमा पनि संचालनमा छ । उनले वृद्धवृद्धा मात्र नभई बेवारिसे बालबालिकाहरुलाई पनि आश्रय दिइरहेकी छिन् । बाचुन्जेल सेवा गर्ने उनले मरेपछि दाहसंस्कार समेत आफैले गर्छिन् । दिलाशोभाले काम गर्ने मान्छे राखेकी छैनन् आमाहरुलाई आफैले सेवा गर्दै आइरहेकि छिन् । 

उनको यो कदममा सरकार, मनकारी व्यक्तिहरु सबैको सहयोग मिलेको छ । त्यसैले आफुलाई हौसला मिलेको उनी बताउँछिन् । कोहि जन्मदिन भनेर मनाउन पुग्छन्, विवाह उत्सव मनाउन पुग्छन् अनि कोहि आमाको मुख हेर्ने दिन भनेर वा यस्तै यस्तै मौकामा आमाघरलाई चाहिँ सामान बोकेर पुग्छन् । यस्तै मनकारी व्यक्तिहरु रहेसम्म आफुलाई अझै सहज हुने उनि बताउँछिन् । 

समाजसेवामा होमिंदै गर्दा चुनौतीका चाङ नथुप्रिएका होइनन् । समाजले औंला नउठाएका पनि होइनन् | आफुसँग जे छ त्यहि बाँडेर खाएर माइतीले दिएको घरलाई आमाघरमा परिणत गरेर मैले केहि गर्नैपर्छ,  अलपत्र परेका आमाहरुलाई आश्रय दिनैपर्छ, समाज सेवा गर्नैपर्छ भन्ने उदार भावनाले गर्दा आज दिलशोभा प्रेरणाकी पात्र बनेकी छिन्, उदाहरणीय बनेकी छिन् ।

उनै परोपकारी मनकी आमाको जीवनको भोगाई, संघर्ष अनि सफलताको कथालाई आजको कथा प्रेरणाको अंकमा पस्केका छौं :-

प्रकाशित: आइतबार, २६ बैशाख २०७८, १३ : ३१ pm

प्रतिक्रिया दिनुहोस

Related News