रेडियो नेपालकी बुढी आमा : जो रेडियोमा बोलेकै भरमा घरबाट निकालिएकी थिइन् !

रेडियो नेपालकी बुढी आमा : जो रेडियोमा बोलेकै भरमा घरबाट निकालिएकी थिइन् !
Glammandu प्रकाशित: बुधबार, २२ बैशाख २०७८, ११ : ३३ pm

तन्नेरी  उमेर अनि  बुढ्यौलीवयकाे आवाज ! त्यहि आवाजमार्फत सबैलाई मनमुग्ध पार्न सक्ने क्षमता । तन्नेरीदेखि बुढ्यौली उमेरमा आइपुग्दा पनि उस्तै जोश। यसको उदाहरण हुन् रेडियोनेत्री तथा कलाकार लक्ष्मी भुसाल । जीवनको ५ दशकभन्दा बढी समय रेडियोमा नै बिताइसकेकी भुसाल वास्तविक नामबाट भन्दा बुढी आमा नामले बढी परिचित छिन् ।

बिसं २००८ सालमा काठमाडौंमा जन्मिएकी भुसालले  रेडियो नेपालको कृषि कार्यक्रममा वृद्ध आवाजमा हरिशरणम् भन्दै गर्दा नागरिकता लिने उमेर पनि पुगेको थिएन । तपाइको जेटिए र  बुढीआमाको गन्थनमा उनले सानै उमेरदेखि नै बुढीआमाको भूमिका निभाएकी थिइन् । आज उमेरले बुढ्यौलीतिर धकेल्दा पनि उनकाे त्यो आवाजमा उस्तै माधुर्यता झल्किएको छ ।

सिंहदरवार हेर्न पुगेकी उनलाई २०२३ सालमा रेडियोमा बोल्ने अवसर जुरेको थियो । सानै उमेरमा रेडियोमा काम थालेकी लक्ष्मीले रेडियोमा बोलेकै भरमा घरबाट समेत निकालुनुपर्यो | तत्कालीन समय, उसै पनि छोरी मान्छेले अगाडि बढ्नु हुँदैन, घरबाहिर निस्कनु हुँदैन भन्ने चलन थियो । भुसालले घरमा थाहै नदिई रेडियोमा आवाज भर्न सुरु गरेकी थिइन् । आवाज त भरिन् तर आफ्नो कार्यक्रम आफैले पनि सुन्न पाएकी थिइनन् । घरमा रेडियो भए आफ्नो कार्यक्रम कसरी सुन्ने भन्नेबारे अनविज्ञ थिइन् लक्ष्मी । जुन दिन उनलाई आफ्नो आवाज रेडियोबाट सुन्ने अवसर जुर्यो उनको परिवारले उनीमाथि शंकाको भावले हेर्न थाले । एउटा नाटकमा अभिनय गरेकै भरमा बाहिर बिहे गरिसकेको भन्दै घरपरिवारले उनलाई घरबाट निकाले । आफूले गरेको कामबाट बाबुआमा उत्साहित होलान् भनेर भित्रभित्रै गद्गद् भएकी लक्ष्मीको खुशी रत्तिभर पनि टिकेन । 

सानै उमेरकी लक्ष्मी घरबाट मात्र निकालिएकी थिइनन्, उनलाई परिवारले समाजबाट समेत लखेटेकाे थियाे । त्यसपछि अन्त टाढा लुकेर आफ्नो कामलाई निरन्तरता दिएकी उनले आज सफलता मात्र प्राप्त गरेकी छैनन्, आवाजलाई नै ब्रान्डको रुपमा स्थापित गरेकी छिन् । लक्ष्मीको संघर्षका ती दिनहरु अत्यन्तै कठिन थिए तर आजको सफलतालाई खुलेरै तारिफ गर्नेहरु प्रसस्तै छन्  । तर उनको त्यो सफलताभित्रको कथा भने कुनै फिल्मको रिल लाइफमा देखाएको एउटा दर्दनाक कथाभन्दा कम छैन् । जसलाई शब्दमा उतार्न निकै कठिन छ ।
रेडियोमा बोल्दा बोल्दै जीवनको ५५ वर्ष बिताएकी लक्ष्मीले माइक्रोफोनलाई नै आफ्नो जीवनसाथी बनाएकी छिन् । किन बिहे गर्नुभएन नि ? भन्ने प्रश्नको जवाफ उनले मुस्कुराउँदै ठट्यौली शैलीमा दिइन्, माइक्रोफोनबाट आवाज भर्दा भर्दै बिहे गर्ने फुर्सद नै भएन !" 

साच्चै उनको जीवन साथी रेडियो र माइक्रोफोन हुन् । यी २ माध्यमबाट नै लक्ष्मीले आफ्नो क्षमता, दक्षता र पहिचानलाई यत्रतत्र फैलाउन सफल भएकी छिन् । रेडियो नेपालको सहसचिवबाट रिटायर्ड लक्ष्मी भुसाल पशुपतिनाथ संगीतकला प्रतिष्ठानको अध्यक्ष समेत हुन् ।

रेडियोमा बोलेकै भरमा, अभिनय गरेकै भरमा घरबाट निकालिएकी लक्ष्मीले केहि गर्छु भन्ने अठोट लिएर नै आफ्नो लक्ष्यलाई पूरा गरेर आज उदाहरणीय आमाको रुपमा परिचय बनाएकी छिन् । रेडियो एउटै  ठाउँ थियो, जहाँबाट लक्ष्मीको यात्रा सुरु भयो अनि  जीवनको भोगाई, संघर्ष र सफलताको यात्रासम्म पनि साथमा नै छ ।  
कथा प्रेरणाको आजको अंकमा उनै  "हरि शरणम् बुढी अर्थात् रेडियो नेपालकी बुढी आमा" को कथालाई प्रस्तुत गर्दै छौं ।

प्रकाशित: बुधबार, २२ बैशाख २०७८, ११ : ३३ pm

प्रतिक्रिया दिनुहोस

Related News