कुनै पनि व्यावसायीलाई मार्कामा पार्ने छैनौं : अध्यक्ष तामाङ्

कुनै पनि व्यावसायीलाई मार्कामा पार्ने छैनौं : अध्यक्ष तामाङ्
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ५९ pm

ग्ल्याममान्डु, काठमाडौं – कोरोना भाइरसका कारण व्यापार व्यावसाय ठप्प हुँदा देशभरका व्यावसायी मारमा परेका छन् । अझ ठूला–ठूला सपिङ मल, कप्लेक्स लगायत क्षेत्रमा व्यावसाय गर्दै आएका व्यावसायी झनै मारमा छन् । गत चैत ११ गतेबाट देशमा लकडाउन सुरुभएसँगै बन्द भएको आर्थिक क्षेत्र लकडाउन खुकुलो बनेपछि केही समान्य बनेको छ ।

यद्यपि पसलहरू खुलेपनि व्यापार भने हुन सकेको छैन । तर, व्यावसायीहरूलाई घर धनी, सपिङ मलरकप्लेक्सका मालिकहरूले भने खुरुखुरु लकडाउनको अवस्थाको पनि भाडा असुल्न थालेका छन् । तर व्यावसायीहरूले भने लकडाउनको समय पछिको भाडा आफूहरू तिर्न नसक्ने अवस्थामा रहेको बताउँदै आएका छन् ।

यसैक्रममा काठमाडौंको सुन्धारा स्थित रहेको सिभिल मलका व्यावसायीहरू भाडा तिर्न नसक्ने भन्दै आन्दोलित भएका छन् । मल व्यवस्थापनका तर्फबाट असार २५ भित्रै सम्पूर्ण भाडा असुल गर्न पत्र काटेपछि उनिहरूले विरोध गर्दै गत असार २६ गते नै आफूले सञ्चालन गर्दै आएका सटरहरूको चावी नै बुझाइ सकेका छन् । व्यावसायीहरू कोरोनाका कारण व्यापार ठप्प भएको र दैनिक जीवन यापनमै ठूलो असर परेको भन्दै लकडाउन अबधीभरको भाडा छुट गर्नु पर्ने मागसहित १५ दिन यता निरन्तर धर्नामा छन् ।

व्यवस्थापन पक्षले असार २५ भित्र भाडा असुल गरे ५० प्रतिशत छुट दिने र असार मसान्त भित्रमा तिरे २५ प्रतिशत मात्र छुट दिने भन्दै पत्र आएपछि मलमा व्यवसाय सञ्चालन गर्दै आएका १ सय ३५ मध्ये १ सय ५ व्यावसायीले सटरको साँचो जिम्मा लगाई सकेको अवस्था छ । साँचो जिम्मा लगाएको हप्ता दिन कटिसक्दा पनि मल व्यवस्थापन समितीले व्यावसायीहरूको माग सम्बन्धोन नगरेको गुनासो सिभिल मल व्यापार संघका पदाधिकारीहरूको भनाई छ।तर, यस विषयमा मल व्यवस्थापन पक्षमा नै एक खालको द्वन्द्व देखिएको छ । हाल सिभिल मलका साझेदारी सञ्चालकका रूपमा रहेका लालकाजी गुरुङले त्यहाँका कोठा तथा सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरूबाट भाडा असुल गर्दै आएका छन् । तर, यस विषयमा मलका अध्यक्ष इच्छाराज तामाङ भने फरक बिचार राख्छन् ।

‘हामीले कुनै पनि व्यावसायीलाई मार्कामा पार्ने भनेका छैनौं, बरु उहाँहरू नै सम्बन्धित ठाउँसम्म उचित माग लिएर आइपुग्नु भएको छैन,’ मलका अध्यक्ष तामाङ्ले भने, ‘व्यवासायीहरू कहाँ के गर्दै हुनुहुन्छ त्यस सम्बन्धमा अहिले केही भन्ने अवस्था छैन तर, उहाँहरूको माग हामी समक्ष आएको खण्डमा कम्पनी र व्यावसायी दुवैको हित हुनेगरि सम्बोधन गर्ने छौं, आर्थात् ‘विन विन’को अवस्थाका लागि सक्दो प्रयास गर्ने छौं ।’‘                                                                                    अहिले नै व्यावसायीहरू आत्तिइहाल्नु पर्ने अवस्था पनि होइन । कहाँ कसले कसरी भाडाको ‘डील’ गर्यो, अल्टिमेटम तोक्यो त्यो ध्यानकषर्ण योग्य छ, तर पीडित पक्षका लागि सरोकारको विषय होइन,’ तामाङले भने, ‘अहिलेको अवस्था सबैका लागि दयनीय र कष्टकर अवस्था नै हो । सबै पक्षले सबैको मर्म र भावना बुझ्नै पर्छ । मेरै गोरुको बाह्रै टक्का भन्नु भन्दापनि जो–जति व्यावसायी साथीहरू राहतको माग गर्दै हुनुहुन्छ, हामी कहाँ माग लिएर आउनुहोस्, हामी सम्बोधन गर्छौ ।’

तामाङले अन्तमा थपेका छन्, ‘हाम्रो व्यवस्थापन पक्ष व्यावसायीहरूका लागि सधैं सकारात्मक छ र, हरेक व्यवसायीहरूलाई हामीले औपचारिक रूपमा कम्पनीको बैंकिङ प्रणालीमार्फत कारोबार गर्न पनि बारम्बार अनुरोध गर्दै आएको छौं । अबका दिनमा पनि व्यवस्थित र व्यवहारीक रूपमा अघि बढ्न हामी तयार छौं ।’

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ५९ pm

प्रतिक्रिया दिनुहोस

Related News