तीज गीत कस्तो हुनुपर्छ भन्ने उदाहरण हो 'चरी जेलैमा'

तीज गीत कस्तो हुनुपर्छ भन्ने उदाहरण हो 'चरी जेलैमा'
Glammandu प्रकाशित: मंगलबार, ०८ भदौ २०७८, १३ : ४६ pm

अहिले बजारमा छ्यापछ्याप्ती तीज गीत सुनिन थालेको छ । बजारमा अनेक किसिमका तीज गीतहरु सार्वजनिक भइरहेकै क्रममा "जेलैमा हो जेलैमा, चरी जेलैमा मै छोरी रुँदै रुँदै बेसी मेलै"मा भन्ने गीत पनि सार्वजनिक भयो ।  यो गीतले भने यतिबेला चौतर्फी चर्चा पाइरहेको छ । लोकदोहोरी गायिका विष्णु माझीको सुमधुर कोकिलकण्ठमा सजिएको यो गीतले बजारमा छुट्टै पहिचान र चर्चा कमाउन सफल भएको छ ।  

तीजमा अनेकौं विकृति फैल्याउने गीत बजारमा आईरहेकै बेला "चरी जेलैमा" गीतले चर्चा पाएको हो ।  उक्त गीतमा एउटी चेलीको वेदनालाई निकै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । तीज भन्ने वित्तिकै यसै पनि वर्षभरीको पीडालाई भुलेर रमाउने, दिदीबहिनीबीच बेदना पोख्ने चाडको रुपमा मानिन्छ ।

तर पछिल्लो समय तीज गीतको नाममा अनेकौं विकृति भित्रिएको छ । पछिल्लो समय केहि तीज गीतहरु विवादमा पनि तानिएको छ । कतिपय गीतहरुमा परिवारसँगै बसेर सुन्न समेत नसकिने खालका शब्दहरु राखिएको हुन्छन् । केहि समय अघि मात्रै 'ख्यास्स पुतली', 'हेर्ने हो देखाइदिम' जस्ता गीतहरु बजारमा आएका थिए । जुन गीतले आधुनिकताको नाममा विकृति फैलाएको थियो ।

 "चरी जेलैमा" गीतले मौलिकतालाई अन्यन्तै सुमधुर ढंगले प्रस्तुत गरिएको छ । एउटी चेलीको विरहलाई प्रत्येक शब्दले केलाएको छ । आफू माइती आउँन नपाएको, श्रीमान कुलतमा फसेर आफुलाई दुख दिएको, माइतीले आफूलाई हाँसीहाँसी बिदाई गरेको कुरालाई समेटिएको छ ।

उक्त गीत भदौ २ गते, बुधबार सपना म्यूजिक इन्ड्रष्टिज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । अहिले उक्त गीतमा २८ लाख भन्दा बढीपटक हेरिएको छ भने १ लाखभन्दा बढी लाइक र झन्डा ८ हजार कमेन्ट गरिएको छ ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको भट्टी’भाग १६ सम्म सार्वजनिक भईसकेको छ । माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द/संगीत रहेको गीतमा विनोद बाजुरालीको एरेन्ज र महिमा आचार्यको कोरस गायन रहेको छ ।

गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका छन्  । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

हिट हुनको लागि नराम्रो र भद्दा शब्द राख्नेहरुको लागि उक्त गीतले खुल्ला चुनौती दिएको छ । तीज गीत कस्तो हुनुपर्छ भन्ने उदाहरण दिएको छ । सुन्दर आवाजले भरिपूर्ण बिष्णु माझी यतिबेला भूमिगत छिन् । उनी सार्वजनिक हुन चाहदिनन् । यद्यपी उनका फ्यानहरु भने उनलाई बन्धक बनाई राखिएको र सार्वजनिक हुनुपर्ने भनिरहेका छन् । करिब २ वर्ष अगाडी जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उपस्थित भई आफुलाई भूमिगत भएर नै बस्न इच्छा भएको बताएकी थिइन् ।

प्रकाशित: मंगलबार, ०८ भदौ २०७८, १३ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News