कीर्तिपुर रंगमञ्चमा ‘जामुनको रुख’

कीर्तिपुर रंगमञ्चमा ‘जामुनको रुख’
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १३ : १८ pm

कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुख: सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको यसै नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन सुरु भएको हो । गत वर्ष फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट नाटकघर कीर्तिपुर रंगमञ्चको उद्घाटन भएको थियो । यस बीचमा विभिन्न कार्यशाला तथा केही नाटकहरु मञ्चन भएपनि नियमित मञ्चन भने ‘जामुनको रुख’बाट भएको हो ।

हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको ७० मिनेट लामो नाटक सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरुलाई जिम्मेवारी पन्छाउँदै नाटकको कथा अघि बढ्छ । अझै थिचिएको मान्छेप्रतिभन्दा ठिक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ ।

समग्रमा ‘जामुनको रुख’ वर्तमान जटिल र बिसंगत सामाजिक– राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथा हो । वर्तमान समयमा  खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो । यसर्थ यो नाटकलाई निर्देशकले दिएको अंग्रेजी सबटाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् लाजविहिन अश्लीलता सार्थक लाग्छ ।

उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’जस्तै नाटकलाई पनि सरल र सरस रुपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ । त्यति हुँदाहूँदै नाटक सकिँदासम्म दर्शकलाई गम्भीर बनाएर मञ्चमा नाटकको अन्तिम प्रकाश निभ्छ ।

त्यसो त निर्देशक केदार भन्छन्, ‘तर हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो । यसर्थ तपाईंको भौतिक आँखाले देखेका दृश्यहरुभन्दा पनि भयानक दृश्यहरु तपाईंको चेतन आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु ।’

एकदमै सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरुमा नाटकमा सटिक रुपमा उतारिएको छ । नाटकले प्रष्टै रुपमा नेपाली सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरिह अवस्थालाई चित्रण गरेको छ । अरु कथा र दृश्यहरु त नाटक हेरेपछि नै देख्नुहुनेछ । नाटक आउँदो माघ ४ गतेसम्म हरेक दिन बेलुकी ४:३० बजे र शनिबार दिउँसो २ बजे पनि कीर्तिपुर रंगमञ्चमा मञ्चन हुनेछ । ‘जामुनको रुख’मा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन् ।

ही नाटकसँगै थिएटर मलमा मंगलबारदेखि ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी पनि सुरु हुँदैछ । सो प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारहरुका कलाहरुको प्रदर्शनी हुने थिएटर मलका कला संयोजक सुजिता महर्जनले जनाएका छन् ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १३ : १८ pm

प्रतिक्रिया दिनुहोस

Related News