चौथो संस्करणको फ्रेन्चाइज एभरेष्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । कोरोना महामारीबीच एक वर्ष धकेलिएको इपीएल शनिबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । २३ असोजसम्म लिगमा सम्पूर्ण खेल यहीँ हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनविरुद्ध ललितपुर प्याट्रिएट्स भिड्नेछन् । उद्घाटन सत्रपछिको खेल सवा १२ बजे सुरु हुनेछ ।
काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने छ भने ललितपुर युवा ब्याटर कुशल भुर्तेलको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।
यसअघि नियमित कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको दुई दिनअघि आएर प्रतियोगिता नखेल्ने जानकारी गराएका थिए । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्रले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । यसपटक ज्ञानेन्द्रसँगै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरी र पूर्वकप्तान पारस खड्कासमेत इपीएलमा देखिने छैनन् । दिपेन्द्रले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका क्रममा चोट बोकेका थिए ।
पारसले समेत प्रतियोगिताको मुखैमा आएर नाम फिर्ता लिएका थिए । यसअघि विराटनगरको कप्तानीसमेत गरेका पारसको नाम क्लबले आयोजकलाई पठाएको थियो । आयोजकले आफ्नो सामाजिक सञ्जालमा विराटनगरको टोलीमा पारस सम्मिलित नाम सार्वजनिक गरेको थियो । तर केही समयमै पारसले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा दुवै टोलीको लक्ष्य महत्वपूर्ण २ अंक हुनेछ । दुवै टोली सुरुवाती खेल गुमाउन चाहँदैनन् । यसपटक दुवै टोलीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी, युवा खेलाडीसहित नाम चलेका ठूला टेष्ट राष्ट्रका खेलाडीसमेत हुनेछन् ।
काठमाडौ किङ्स इलेभेनमा सन्दीपसँगै सुवास खकुरेल, राजु रिजाल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, गुल्सन झासँगै विदेशी खेलाडीमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रहने छन् । यस्तै विदेशी खेलाडीमा जनक प्रकाश, रायन बर्ल र रहमनुल्लाह गुर्बज रहने छन् ।
पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले इपीएलका दुई खेल मात्रै खेल्ने छन् । यी दुई खेलमा अफ्रिदी नेपाली क्रिकेट प्रेमी र खेलाडी, मिडिया सबैको नजरमा पर्नेछन् ।
ललितपुर प्याट्रिएट्ससमेत नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथमा बलियो उपस्थित देखाउन चाहन्छ । ललितपुरमा कुशलसँगै पवन सरार्फ, ललित राजवंशी, सन्दीप जोरालगायतका खेलाडी छन् । विदेशी खेलाडीमा अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नाण्डो, शनदुन विराक्कोडी र भुटानका मिक्यो दोर्जी छन् ।
इपीएलमा सहभागी प्रत्येक टोलीले चार खेलाडी अनुबन्ध गर्न पाउँछन् । जसमा तीन खेलाडी मैदान प्रवेश गर्न पाउने छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा सम्पूर्ण टोलीले आफ्नो अन्तिम तयारीसमेत पूरा गरिसकेका छन् ।
यसपटक इपीएलमा सहभागी टोलीको कप्तानी नेपाली खेलाडीले नै गर्नेछन् । ललितपुर प्याट्रिएट्सको कुशल भुर्तेल, भैरहवा ग्ल्याडीएटर्सको शरद भेसवाकर, काठमाडौँ किङ्स एलेभेनको सन्दीप लामिछाने, चितवन टाइगर्सको सोमपाल कामी, विराटनगर वारियर्सको करण केसी र पोखरा राइनोजको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।
यसपटक विजेताले ट्रफीसहित ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १५ लाख प्राप्त गर्ने आयोजनकले जनाएको छ । इपीएलको पहिलो संस्करणको उपाधि पञ्चकन्या तेज, दोस्रो संस्करण विराटनगर वारियर्स र तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रिएट्सले जितेका थिए ।
प्रतिक्रिया दिनुहोस