तीनपातेको अपार सफलता पछि आर्टमाण्डूको प्रस्तुतिमा बाफ सार्वजनिक

तीनपातेको अपार सफलता पछि आर्टमाण्डूको प्रस्तुतिमा बाफ सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, ३१ साउन २०७८, १७ : १६ pm

तिनपाते अनि के माया लाग्छ र ? जस्ता वहुचर्चित गीत र तिनका म्यूजीक भिडियो बनाएर करोडौं नेपाली दर्शकश्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले ‘बाफ’ बोलको म्युजिकल फिल्म सार्वजनिक गरेको छ । उक्त गीत आर्टमाण्डू युट्युब च्यानलमार्फत आज (आइतबार) सार्वजनिक भएको हो । 

कथात्मक शैलीमा भिडियो बनाएर अलग्गै पहिचान र स्वाद पस्कन खप्पीस आर्टमाण्डु स्टुडियोले यस बाफ गीतमा पनि तिनपातेकै गायक तथा संगीतकार सुजन चापागाँई र गायिका विधा तिवारीको आवाज साभार गरेको छ । नेपाली गाँउ, परिवेश र अर्गानीक नेपाली कथाहरुलाई समावेश गरेर बनाइएका के माया लाग्छ र अनि तिनपातेका भिडियोहरु नै यूट्यूबमा लगभग ४ करोड हाराहारीमा हेरिएको छ । मुलधारको सञ्चार माध्यमहरु भन्दा फरक तर जनजिब्रोमा बस्न र टपक्क टिप्न सहज सांगितिक कोसेलीहरु मध्य  बाफ संगको दर्शकको अपेक्षा निकै रहेको पाइएको छ । 

नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापन देखि वयस्क हुँदासम्मका रसिक र मौलीक प्रेमकथामा निर्माण गरिएको यस गीतको भिडियो नेपाल भारत सिमा संग देशप्रेम अनि सामाजिक संरचनालाई गज्जबले उजागर गरेको निर्देशक नविन चौहानको भनाँई छ ।  प्रस्तुत म्युजिकल फिल्म ‘बाफ’ मा गायनमा  स्थापित भएका गायक  प्रताप दासको मुख्य भूमिका रहेको छ भने शिल्पा थापा, नयन नेपाल, सम्रांत  थापा , हर्क साउद , रिञ्छेन तामाङ्ग लगायतको  अभिनय छ ।  यसलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलको सम्पादन रहेको छ ।

तीनपाते, साईली, दुबो फुल्यो जस्ता अनेकौ लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस  गीतको संयोजन  तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन् ।  गीतको मिस्किङ्ग मास्टरिङ्ग कोबिद बज्रले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

प्रकाशित: आइतबार, ३१ साउन २०७८, १७ : १६ pm

प्रतिक्रिया दिनुहोस

Related News