यस कारण रणवीर सिंहको ‘८३’ असफल

यस कारण रणवीर सिंहको ‘८३’ असफल
Glammandu प्रकाशित: बुधबार, १४ पुस २०७८, १३ : ३४ pm

सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेर इतिहास रच्यो । यो कथालाई निर्देशक कबीर खानले निकै मेहनतका साथ फिल्म ‘८३’ मा उतारे ।

फिल्ममा कपिल देवको भूमिकामा रणवीर सिंह देखिएका छन्, जुन भूमिकालाई दर्शक र समीक्षकले सराहना गरेका छन् । फिल्मले बक्स अफिसमा ‘चौका’ र ‘छक्का’ हान्ने अनुमान गरेका थिए, तर त्यसो हुन सकेन । ओमिक्रोनको फैलँदो संक्रमण, हलिउड र साउथ फिल्मको एकसाथ प्रदर्शनलगायतका कारणले ‘८३’लाई निकै असर पर्यो । खासगरी पाँच कारणले यो फिल्म बक्स अफिसमा असफल रह्यो ।

पहिलो कारण हो, फिल्मको गीत । फिल्ममा कैयौं गीत छन्, जुन गीतले दर्शकलाई छुन सकेन । फिल्म रिलिज हुनुअघि ‘लहरा दो’ गीत रिलिज गरिएको थियो, जुन गीतलाई दर्शकले खासै चासो दिएनन् । बलिउडमा फिल्मका गीतलाई फिल्मको ‘मुटु’ मानिन्छ । तर ‘८३’को हकमा यसका गीतले दर्शकलाई हलसम्म तान्न सकेन ।

दोस्रो कारण हो, ओमिक्रोनको भय । अहिलेसम्म मानिसहरुको मनमा कोरोनाको डर हटेको छैन । त्यही समयमा यसको नयाँ भेरिएन्ट ओमिक्रोन आएपछि मानिसलाई झन् त्रसित बनाएको छ । यही कारण पनि दर्शकहरु थिएटरसम्म जान डराइरहेका छन् ।

तेस्रो कारणको रुपमा हलिउड र साउथ फिल्मको रिलिजलाई मानिएको छ । हलिउड फिल्म ‘स्पाइडर मेन नो वे होम’ र साउथ फिल्म ‘पुष्प’ रणवीरको फिल्म ‘८३’ रिलिज हुनु एक हप्ताअघि नै प्रदर्शन भएको थियो । दर्शकमा यी दुई फिल्मको प्रभाव यति धेरै पर्यो कि उनीहरुले ‘८३’ लाई नै बिर्सिए । यी दुई फिल्मले बक्स अफिसमा ‘८३’लाई निकै पछाडि छोडेको छ । जुन क्रम अहिले पनि जारी छ ।

चौथो कारण कलाकारको मेकअपलाई मानिएको छ । फिल्ममा रणवीरको मेकअपमा कुनै कसर बाँकी राखिएको छैन । उनी दुरुस्तै कपिल देवजस्ता देखिएका छन् । तर फिल्मका अन्य कलाकारको मेकअपमा भने रणवीरको जस्तो ध्यान दिइएको छैन । क्रिकेटप्रेमीका लागि यो खल्लो साबित भएको छ भने दर्शकले पनि यो विषयमा ध्यान दिएका छन् । 

पाँचौ कारण यो फिल्मप्रति दर्शकको अलग अलग बुझाई छ । फिल्मले प्रदर्शनको चार दिनमा मुस्किलले ५४ दशमलब २९ करोडको कमाई गरेर हाफ सेञ्चुरी पार गरेको छ ।

प्रकाशित: बुधबार, १४ पुस २०७८, १३ : ३४ pm

प्रतिक्रिया दिनुहोस

Related News