यसरी ढल्यो बर्लिनको पर्खाल

यसरी ढल्यो बर्लिनको पर्खाल
Glammandu प्रकाशित: बुधबार, २४ कार्तिक २०७८, २२ : १६ pm

सोभियत संघको अधीनमा रहेको पूर्वी जर्मनीबाट अमेरिकी सम्राज्यवादको प्रभाव रहेको पश्चिम जर्मनीमा मानिसहरुलाई जानबाट रोक्न बनाइएको बर्लिन पर्खाल ढलेको मंगलबार ३२ वर्ष पूरा भएको छ ।

सन् १९६१ मा निर्मित पर्खाल १९८९ मा भत्काउन थालिएको  थियो । १५५ किलोमिटर लामो पर्खाल भत्किएको एक वर्षपछि जर्मनीको एकीकरण भएको थियो । पर्खालको तीन किलोमिटर अंश अझै बाँकी छ । 

दोस्रो विश्वयुद्धको अन्त्यपछि  विश्व परस्पर दुई धारमा बिभाजित थियो । अमेरिकी नेतृत्वको पूँजीवादी र तत्कालिन सोभियत संघले नेतृत्व गरेको साम्यवादी धार ।

सोभियत संघको अधीनमा रहेकोे पूर्वी भाग सन् १९४९ मा जनवादी गणतन्त्र जर्मनी घोषणा भएको थियो । छुट्टै मुलुक बने पनि प्रशासन, सेना र गुप्तचरका गतिविधि सोभियत संघकै इसारामा चल्थे ।  

तर, विकासका दृष्टिले पश्चिम जर्मनीभन्दा पूर्वी जर्मनी धेरै पछाडि थियो । त्यसपछि पूर्वी जर्मनीबाट पश्चिमतर्फ बसाई सर्नेको होड चलेको थियो । पर्खाल बनाउनुअघि ३० लाख मानिस पूर्वबाट पश्चिम जर्मनी पुगेको अनुमान छ ।

पश्चिमी जर्मनीको विकासबाट अत्तालिएको पूर्वी जर्मनीले सन् १९६१ बाट सीमा पूर्ण रुपमा बन्द गरी बर्लिनमा पर्खाल लगाउन थालेको थियो । सन् १९६५ देखि १९७५ को बीचमा दुई सहरलाई छुट्टाउन विशाल पर्खाल लगाइयो । १५५ किलोमिटर लामो सो पर्खालको उचाई साढे तीन मिटर थियो ।

पर्खाल लगाएपछि पूर्वबाट पश्चिम सहरमा जान केही कमी भयो । 

सन् १९८९ सम्म करिव पाँच हजार जनाले पर्खाल नाघ्ने कोसिस गरेका थिए । नाघ्ने क्रममा २०० जनाको मृत्यु भएको थियो ।

पर्खालको चौतर्फी बिरोध भयो । पूर्वी जर्मनीका नागरिकहरुले बिद्रोह गरे । सन् १९८९ को नोभेम्बरमा पूर्वी जर्मनका शासकले पर्खाल भत्काउन बाध्य भएका थिए ।

पर्खाल भत्काउन मात्रै तीन वर्ष लागेको थियो । सन् १९९२ मा पर्खाल पूर्ण रुपमा भत्काइएको थियो । पर्खाल  भत्काएको एक वर्षपछि पूर्वी र पश्चिमी जर्मनीको एकीकरण भएर हालको जर्मनी भएको थियो ।

प्रकाशित: बुधबार, २४ कार्तिक २०७८, २२ : १६ pm

प्रतिक्रिया दिनुहोस

Related News