शाहरुख, आमिर, सलमानदेखि शाहिद कपुरसम्मकाे ‘विवादास्पद बयान’

शाहरुख, आमिर, सलमानदेखि शाहिद कपुरसम्मकाे ‘विवादास्पद बयान’
Glammandu प्रकाशित: बुधबार, ०३ कार्तिक २०७८, १३ : ५३ pm

बलिउडलाई हलिउडपछिको ठूलो फिल्म उद्योग भनिन्छ । यहाँ बन्ने फिल्मको संख्या र कलाकारहरू स्टारडम लोभलाग्दो छ । बलिउड कलाकारका फ्यान विश्वभर छन् । जति ठूलो बलिउड छ, त्यहाँका कलाकारले बोलेको विषयको चर्चा पनि त्यति नै ठूलो हुन्छ ।

बलिउडमा केही कलाकार यस्ता पनि छन्, जो आफूले बोलेकै कारण विवादमा तानिएका छन् । बलिउडका कलाकारलाई यदि कुरा गर्नुछैन भने उनीहरू ‘नो कमेन्ट्स’ भनेर पन्छिन्छन् । तर, कहिलेकाहीँ यस्ता कुरा भनिदिन्छन्, जो विवादको कारण बन्न पुग्छ ।

पछिल्लो समय बलिउडमा ठीकठाक समय नरहेका कलाकार हुन् शाहरुख खान । किंग खानको उपनाम पाएका शाहरुख यतिबेला जटिल अवस्थाबाट गुज्रिरहेका छन् । यिनै शाहरुखले एकपटक ‘म पोर्नस्टार बन्न चाहन्छु’ भनेका थिए । एक अन्तर्वार्तामा उनले यस्तो भनेका हुन् । उनले पोर्नस्टार बन्न मिहिनेत लाग्नेसमेत बताए । यसो भनिरहँदा उनले आफ्नो मजाक आफैँ उडाएका थिए । तर, उनको यो बयानले बलिउडमा हंगामा भयो । केही समयपछि शाहरुखले आफूलाई 'गिल्टी' फिल पनि भएको बताएका थिए ।

शाहरुखसँग सम्बन्ध टाढा हुनेमा पर्छन् बलिउडका मिस्टर पर्फेक्ट आमिर खान । यिनै आमिरले एकपटक आफ्नो कुकुरको नाम शाहरुख रहेको बताएका थिए । त्यतिबेला बलिउडमा निकै हंगामा भएको थियो । ‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ । म उसलाई बिस्कुट खुवाइरहेको छु । मलाई योभन्दा बढी के चाहियो ? तपाईंहरूले यसबारे कुनै कमेन्ट गर्नुअघि नै बताउन चाहन्छु शाहरुख मेरो कुकुरको नाम हो ।’ आमिरले ठट्टा गर्दै सामाजिक सञ्जालमा लेखे पनि यसले शाहरुखसँगको दुश्मनी बढाउने काम गर्‍याे । आमिरले पनि यो शाहरुखलाई नै इंगित गरेका थिए ।

शाहरुख र आमिरपछि अर्का खान अर्थात् सलमानले विवाद ननिम्त्याउने कुरै भएन । बलिउडमा भाइजान भनेर चिनिने सलमान निकै विवादमा तानिने गर्छन् । यिनै सलमानले एकपटक ऋतिक रोशन र ऐश्वर्या रायमाथि व्यंग्य गरेका थिए । सञ्जयलीला भन्साली निर्देशित गुजारिस फिल्म रिलिज हुँदा उनले ‘कुकुर पनि फिल्म हेर्न गएन’ भन्ने भनाइ एक अन्तर्वार्तामा दिएका थिए । सञ्जयसँग दोस्रो फिल्मदेखि टाढिएका सलमानले ऐश्वर्या भएपछि नबोल्ने कुरै भएन । त्यसपछि ऋतिकसँग पनि सलमानको दूरी बढ्यो । किनकि फिल्म फ्लप भए पनि यसलाई फिल्मकर्मीले रुचाएका थिए । फिल्मले उठाएको मुद्दा र ऋतिकले गरेको अभिनय प्रशंसा यतिबेला पनि हुने गरेको छ । 

बलिउडका कवीर सिंह अर्थात् शाहिद कपुर पनि विवादमा तानिने गर्छन् । आफ्नो स्टारडमलाई फेरि एकपटक व्यूँताएका शाहिद कुनै समय बलिउडकी चमेली अर्थात् करीना कपुरको प्रेममा थिए । प्रेम पछि ब्रेकअपमा परिणत भयो । त्यसबेला यी दुईको फिल्म ‘जव वी मिट’ हिट भयो । त्यसपछि शाहिदलाई प्रश्न तेर्सियो- ‘अब करिनासँग काम गर्ने कि नाइँ ?’ उनले जवाफ दिए- ‘निर्देशक भन्छन् भने म गाईभैँसीसँग पनि काम गर्न तयार छु।’ त्यसले करिनासँग शाहिदको दूरी झनै बढ्यो । 

प्रकाशित: बुधबार, ०३ कार्तिक २०७८, १३ : ५३ pm

प्रतिक्रिया दिनुहोस

Related News