नेपालकै सबैभन्दा पूरानो मध्येको एक फिल्म हल ‘जय नेपाल हल’ बन्द हुने भएको छ । खर्च धान्न नसक्ने भएपछि उक्त हल बन्द हुने अवस्थामा पुगेको हो ।
२००९ सालमा खुलेको मुलुककै पुरानो मध्येको एक जय नेपाल हल कोरोना भाइरसका कारण खर्च धान्न नसक्ने अवस्थामा पुगेपछि बन्द हुने चरणमा पुगेको हो । गएको वर्षको माघ, फागुनसम्म दर्शकले भरिभराउ हुने उक्त हलमा हाल एउटा शोमा मुस्किलले ५/१० जना दर्शक आउने गरेका छन् ।
निर्मल प्रधानको स्वामित्वमा रहेको जय नेपाल हल २०५५ देखि क्यूएफएक्सले हल चलाउँदै आएको थियो । प्रधानले २०४२ मा स्वामित्व लिएर पछि चलचित्र प्रर्दशन गर्ने ब्राण्ड क्यूएफएक्सलाई बिक्रि गरेका थिए ।
क्यूएफएक्सले चलाउन सुरु गरेको पहिलो फिल्म हल पनि जय नेपाल हल नै हो । क्यूएफएक्सले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, नारायणगढ, विराटनगर, धरान, नेपालगञ्ज, बुटवल, भैरहवालगायत स्थानमा हल चलाउँदै आएको छ ।
त्यस्तै, पूरानो इतिहास बोकेको र अवस्था सामान्य हुनासाथ पुनः पूरानै अवस्थामा सञ्चालन हुने भएकाले सधैँका लागि नभई तत्कालका लागि मात्रै बन्द गर्न लागिएको व्यवस्थापकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस