बलिउडमा रौनक : एकैदिन तोकियो १६ फिल्मको प्रदर्शन मिति, अक्षयका मात्रै ६ फिल्म

बलिउडमा रौनक : एकैदिन तोकियो १६ फिल्मको प्रदर्शन मिति,  अक्षयका मात्रै ६ फिल्म
Glammandu प्रकाशित: सोमबार, ११ असोज २०७८, १७ : २६ pm

भारतको महाराष्ट्र सरकारले २२ अक्टोवरबाट सिनेमा हल खोल्न दिने निर्णय गरेपछि बलिउडमा रौनक छाएको छ । डेढ वर्षयता बन्द भएका हलहरू खुल्ने भएपछि बलिउड निर्माताहरूले धमाधम आफ्नो फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । 

आइतबार मात्रै बलिउडका ठूला ब्यानर र बजेटका मानिने १६ वटा फिल्मले प्रदर्शन मिति तोकेका छन् । जसमा यशराज फिल्मस्देखि लिएर साजिद नाडियावाला प्रोडक्शनसम्मका, आमिर खान, अक्षय कुमारदेखि लिएर रणवीर सिंहसम्मका स्टारका फिल्म छन् । 

सबैभन्दा बढी प्रदर्शन मिति तोकिएका फिल्म अक्षय कुमारका छन् । अक्षयका ६ वटा फिल्मले प्रदर्शन मिति तोकेका हुन् । जसमा सूर्यवंशी तिहारमा प्रदर्शन हुँदैछ । अक्षयको अर्काे फिल्म पृथ्वीराजले २१ जनवरी, बच्चन पाण्डेले ४ मार्च, अतरंजी रे ६ अगस्ट, रक्षाबन्धन ११ अगस्त, रामसेतु २४ अक्टोवर २०२२ छन् । 

त्यसैगरी प्रदर्शनको मिति तोकिएका फिल्ममा १९ नोभेम्बरमा सैफअलि खान र रानी मुखर्जी अभिनित बन्टी और बब्ली–२, २६ नोभेम्बरमा जोन अब्राहमको सत्यम् जयते-२, आयुष्मान खुराना र वाणी कपुर अभिनित चन्डीगढ करे आशिकी १० डिसेम्बर, रणवीर सिंह र दीपिका पादुकोण अभिनित ‘८३’ २५ डिसेम्बर र शाहिद कपुरको ‘जर्सी’ ३१ डिसेम्बरमा प्रदर्शन हुने भएका छन् । 

२१ जनवरी २०२२ मा अक्षय कुमार र पूर्वमिस वल्र्ड मानुषी छिल्लर अभिनित पृथ्वीराज प्रदर्शन हुने भएको छ । आमिर खानको प्रतीक्षित फिल्म लालसिंह चड्ढा १४ फेब्रुअरीमा प्रदर्शन हुनेछ भने २५ फेब्रुअरीमा रणवीर सिंह र सालिनी पाण्डे अभिनित जोयस भाइ जोरदार प्रदर्शन हुनेछ ।
अक्षय कुमारको बच्चन पाण्डे ४ मार्चमा हलमा आउने छ भने १८ मार्चमा सञ्जय दत्त र रणवीर कपुर अभिनित शमशेरा प्रदर्शन हुनेछ । कार्तिक आर्यन र कियरा

वाणीको भुलभुलैया–२ मार्च २५ मा लाग्ने छ । बहुप्रतीक्षित केजिएफ-२ ले अप्रिल १४ लाई मिति तोकेको छ ।

२९ अप्रिलमा अजय देवगण र रकुल प्रीत अभिनित मे डे रिलिज हुनेछ । टाइगर श्राफको हिरोपन्थी–२ ले ६ मेलाई मिति तोकेको छ । अक्षय कुमार र भूमि पेडनेगर अभिनित रक्षाबन्धन ११ अगस्तमा रिलिज हुने छ भने अक्षयकै अर्काे फिल्म रामसेतु २४ अक्टोवरमा दर्शकमाझ आउने छ । 

महाराष्ट्र छाडेर रिलिज गर्दा बिजोग

कोरोनाको दोस्रो लहरपछि भारतका महाराष्ट्रबाहेक अन्य स्थानका हल गत ३० जुलाईमै खुलेका थिए । त्यतिबेला केही हलिउड फिल्म मात्रै प्रदर्शन भए । अक्षय कुमारको बेलबटम १९ अगस्तमा ओटीटीसहित हलमा समेत रिलिज भएको थियो । तर व्यापार राम्रो गर्न सकेन ।

एक महिनामा सो फिल्मले ३० करोड भारुको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमिताभ बच्चन अभिनित चेहेरेले हलबाट जम्मा दुई करोड भारु कमाएको बताइन्छ । कंगना रनावतको थलाइवी १० सेक्टेम्बरमा हलमा रिलिज भएको थियो, तर फिल्मले कुनै कमाल गर्न सकेन ।

भारतीय फिल्मको प्रमुख बजार महाराष्ट्रलाई मानिन्छ । महाराष्ट्र छोडेर अन्य प्रदेशमा मात्रै फिल्म रिलिज गर्दा लगानीसमेत उठाउन मुस्किल पर्ने तथ्य देखिएको छ । त्यसैले फिल्मकर्मीहरूले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई भेटेर हल खुलाउन आग्रह गरेका थिए । 

प्रकाशित: सोमबार, ११ असोज २०७८, १७ : २६ pm

प्रतिक्रिया दिनुहोस

Related News