दशैं नजिकियाे, हलमा फिल्म कहिले ?

दशैं नजिकियाे, हलमा फिल्म कहिले ?
Glammandu प्रकाशित: सोमबार, ०४ असोज २०७८, १४ : ४७ pm

सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण दोस्रो पटक १६ वैशाखदेखि जारी निषेधाज्ञा भदौ दोस्रो सातासम्म आइपुग्दा धेरै हदसम्म खुला भइसकेको थियो । तर, कुनै निर्माता पनि फिल्म प्रदर्शन गर्न तम्सिएनन् । 

पहिलो पटक ११ चैत ०७६ जारी लकडाउन ०७७ को भदौमा अन्य क्षेत्र खुकुलो गरिएको भए पनि सरकारले फिल्म हल सञ्चालनको अनुमति भने दिएको थिएन । त्यतिबेला भने फिल्मकर्मी तथा सम्बन्धित संघसंस्थाले हल खोल्न सरकारलाई दबाब दिएका थिए । 

हल सञ्चालन अनुमति दिन सरकारले आलटाल गरिरहेको बेलामा अभिनेता शिव श्रेष्ठले आफूले निर्माण गरेको फिल्म ‘यस्तो एउटा प्रेमकहानी’ १ माघदेखि प्रदर्शन गर्ने घोषणा गरे । सरकारले हल खोल्न नदिए पनि आफूहरूले एकतर्फी रूपमा भए पनि हल खोलेर ‘यस्तो एउटा प्रेमकहानी’ चलाउने घोषणा हल सञ्चालकले गरे ।

अन्ततः सरकारले पुस अन्तिममा ५० प्रतिशत दर्शक राखेर हल सञ्चालन गर्न पाउने व्यवस्था गर्यो । कतिपयले सरकारको सो निर्णयको स्वागतसमेत गरे । अन्ततः १ माघ ०७७ मा ‘यस्तो एउटा प्रेमकहानी’ प्रदर्शन गरियो । तर, हलमा दर्शकको उपस्थिति भने निकै न्यून हुन पुग्यो । १ माघपछिका सातामा ‘यस्तो एउटा प्रेमकहानी’ पछि तत्कालै अरु नेपाली फिल्म प्रदर्शनमा आएनन् । केही अंग्रेजी र हिन्दी फिल्म भने प्रदर्शन भए । 

२१ फागुनमा अर्काे नेपाली फिल्म हलमा प्रदर्शन भयो । फिल्म थियो–‘गोर्खे’ । सो फिल्मले पनि हलमा दर्शक तान्न सकेन । ‘गोर्खे’ को व्यावसायिकता ‘यस्तो एउटा प्रेमकहानी’ भन्दा पनि नाजुक हुन पुग्यो । 

नयाँ वर्ष र दशै, तिहारमा नेपाली फिल्म प्रदर्शनका लागि निकै प्रतिस्पर्धा हुने गरेको छ । ती ‘डेट’ मा ठूलो ब्यानरका मानिने फिल्महरू पनि जुध्ने गरेका छन् । तर, अपशोच, हल खुले पनि ०७८ को नयाँ वर्ष खान ती ठूला भनी÷मानिएका ब्यानरका कुनै फिल्म पनि प्रदर्शनमा आएनन् ।

बरु, निर्देशक एभरेस्ट सूर्य बोहराले लकडाउनकै विषयमा निर्माण गरेको ‘श्री’ र राजबहादुर सानेले ०७१ मा निर्देशन गरेको, तर हलमा आउन नपाएको ‘गुड फ्रेन्ड’ नामक फिल्म २७ चैतमा प्रदर्शनमा आए । ‘श्री’ ले दर्शकको राम्रै प्रतिक्रिया पायो । तर, ‘गुड फ्रेन्ड’ भने कतिपय हलमा एक शोमै उत्रियो । 

यद्यपि, नयाँ वर्ष ०७८ को अवसर पारेर २७ चैतमा दीपक ओली निर्देशित ‘कृष्ण–लीला’, मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन–२’ र कैलाश राई निर्देशित ‘मनसँग मन’ प्रदर्शनमा आउने घोषणा गरिएको थियो । ती फिल्मले गीत तथा टिजर र प्रोमोसमेत सार्वजनिक गरेका थिए । तर, तीनवटै फिल्म प्रदर्शन गरिएन ।

‘एकातिर हलमा ५० प्रतिशत मात्र दर्शक राख्नुपर्ने रे, अर्काेतिर कोरोनाको संक्रमण झन् बढ्दै गयो । फेरि लकडाउन हुन सक्ने संकेत पाएपछि रिलिजको एक साताअघि मात्रै स्थगित गरेका हौ,’ ‘कृष्ण–लीला’का कार्यकारी निर्माता रतन श्रेष्ठले, ‘हामी त फिल्म प्रदर्शन गर्न तयार नै थियौ । तर, कोरोना भाइरसका कारण परिस्थिति गम्भीर हुँदै गएकाले अन्तिम समयमा ‘ब्याक’ हुनुपरेको हो ।’ 

‘कृष्ण–लीला’, ‘मनसँग मन’ र ‘लप्पन छप्पन–२’ २७ चैतमा नआउने भएपछि हतार हतार सो मितिमा ‘श्री’ र ‘गुडफ्रेन्ड’ प्रदर्शन गरिएको थियो । ‘खासमा ‘श्री’ हलमा प्रदर्शन गर्ने उद्देश्यले निर्माण गरिएकै होइन,’ निर्देशक बोहरा भन्छन्, ‘तर पनि अरु फिल्म नआउने भएकाले हतार हतारमा प्रदर्शन गरिएको थियो । दर्शकको सकारात्मक प्रतिक्रियाले मलाई यस्तै प्रयोगात्मक फिल्म बनाउने प्रेरणा मिलेको छ ।’ 

करिब ७२ घन्टामा सुटिङ सकाइएको ‘श्री’ तेस्रो सातामा प्रदर्शन हुँदै गर्दा १६ वैशाखदेखि सरकारले दोस्रो चरणको लकडाउन जारी गर्यो । ‘श्री’ राम्रै चल्दैथियो, लकडाउने रोकियो,’ ‘श्री’ का वितरक करण श्रेष्ठ भन्छन्, ‘त्यो फिल्म अहिले फेरि प्रदर्शन गर्ने सोच बनाएको थिएँ । तर, हल नखुलेकाले त्यत्तिकै भयो ।’ 

पहिलो लकडाउन खुलेपछि फिल्म निर्माता तथा हल सञ्चालकहरू फिल्म प्रदर्शन गर्न आतुर भएका थिए । उनीहरूले अन्य झै फिल्म क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका थिए । लकडाउन खुकुलो हुनेवित्तिकै करिब एक दर्जन फिल्म छायांकन पनि भए । तर, जब दोस्रो पटक लकडाउन भयो र गत भदौ मध्यमा हल खोल्ने अनुमति पनि मिल्यो, तर अहिले फिल्म प्रदर्शन तथा निर्माण गर्न निर्माता, हल सञ्चालक तातेका छैनन् । 

‘जबसम्म सरकारले हलमा पूर्णरूपमा दर्शक राख्न दिने व्यवस्था गर्दैन, तबसम्म फिल्म रिलिज गरेर अर्थै छैन,’ वितरक सुनील मानन्धरले भने, ‘स्थिति सामान्य भयो भने पनि फिल्म चल्ने माहोल बन्न एक डेढ वर्ष नै लाग्न सक्छ ।’ 

प्रकाशित: सोमबार, ०४ असोज २०७८, १४ : ४७ pm

प्रतिक्रिया दिनुहोस

Related News