अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सहयोग जुटाउन अभियान सुरु गरेकी छन् । शुक्रबार बाढी प्रभावित मेलम्ची पुगेर श्वेताले सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन् ।
सिरक, कम्बल, डसनासहित खाद्यान्न सहयोग गर्ने श्वेताको तयारी छ । तत्काल राहत र उद्दारको व्यवस्थापनमा आफू अघि सरेको श्वेताले जनाएकी छिन् । श्वेता र हाम्रो टीम नेपाल नामक सामाजिक समूह मिलेर मेलम्चीलाई सघाउन लागेका हुन् ।
उनले सहयोगका लागि अपिल गरेपछि केही महिनादेखि कोरोनाका विरामीलाई निःशुल्क अक्सिजन र भोकाहरुलाई खाना बाँडिरहेको संस्था हाम्रो टिम नेपालले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।
त्यस्तै, मेलम्ची बासिन्दाको पीडामा मलहम लगाउन हिमालय एयरलाइन्सका विजय श्रेष्ठले १० हजार र रमेश कुमार सापकोटाले २५ हजार सहयोग गरेको श्वेताले फेसबुकमार्फत् जानकारी दिएकी छन् ।
उनका अनुसार, यो रकमले खाद्य सामाग्री खरिद गरिनेछ । शुक्रवार राहत लिएर मेलम्ची प्रस्थान गर्ने तयारीमा रहेकी उनले सहयोग गर्न चाहनेले सम्पर्क गर्न आग्रह गरेकी छन् ।
श्वेताले सामाजिक संजालमा लेखेकी छन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुःख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महशुस गरी तत्काल राहत र उद्धारको व्यवस्थापनमा आफ्नो पाइला अघि सारेकी छु ।’
प्रतिक्रिया दिनुहोस